post-slider post-slider

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, कस्तो रहला अन्य स्थानको मौसम?

Image
A A

काठमाडौं- देशका विभिन्न भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। 

केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बिहान सामान्य बदली रहँदा बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्य बदली रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बबई जलाधारको सानो श्री चेपाङ बर्दिया र आसपासका केही स्थानमा अति भारी वर्षा भएको छ। जसका कारण बबई नदीको सतह एक्कासी बढेको छ। तर, सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

आसपासको स–साना खोलामा एक्कासी बाढी आउनुका साथै चेपाङ बस्ती आसपासको राजमार्गमा पहिरोको जोखिमरहेकाले बिहानसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  रहेको छ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली  रहने जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भाग एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

भारी वर्षा र चट्याङको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ। 

हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ।

Tags: