म्यानचेस्टर सिटी लगातार तेस्रो खेलमा पराजित, टोटनहमसँग ४-० को हार
काठमाडौं - इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी यस सिजनमा चुनौतीपूर्ण समय सामना गरिरहेको छ।
जारी लिगमा लगातार तेस्रो खेलमा पराजित भएको सिटीले शनिबार राति घरेलु मैदानमै टोटनहमसँग ४-० को ठूलो हार व्यहोरेको छ।
इतिहाड स्टेडियममा भएको खेलमा टोटनहमले सानदार प्रदर्शन गर्दै म्यानचेस्टर सिटीलाई चार गोलले पराजित गर्यो। खेलको १३औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए।
म्याडिसनले २०औं मिनेटमा दोस्रो गोल थप्दै अग्रता दोब्बर बनाए। ५२औं मिनेटमा पेड्रो पोरोको गोलले टोटनहमलाई ३-० को सहज स्थिति दियो अन्तिमतिर, ९०+३औं मिनेटमा ब्रेनन जोनसनले गोल थप्दै टोटनहमको जितलाई पूर्ण बनाए।
यस पराजयसँगै म्यानचेस्टर सिटीले १२ खेलबाट २३ अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको लिभरपुल ११ खेलबाट २८ अंकसहित शीर्ष स्थानमा कायम छ।
चेल्सी, आर्सनल र ब्राइटनले समान २२ अंक जोड्दै तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन्। टोटनहम, १९ अंकसहित छैटौं स्थानमा छ।
साविक विजेताका लागि लगातार तीन खेलमा पराजित हुनु असाधारण हो। तर, यस सिजनमा सिटीले दसौं खेलमा बर्नमाउथ, एघारौं खेलमा ब्राइटन र अहिले टोटनहमसँग हार व्यहोरिरहेको छ। प्रशिक्षक पेप गार्डिओलाको टिमले अब आफूलाई पुन: लयमा ल्याउन कठिन परिश्रम गर्नुपर्ने देखिन्छ।
आगामी खेलहरूमा सिटीको प्रदर्शनले लिगमा उसको स्थान र भविष्यको योजना निर्धारण गर्नेछ।