post-slider post-slider

एनआरएनएको सम्मेलन सुरू, अध्यक्षका लागि चार प्रतिस्पर्धी

Image
A A

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्व सम्मेलन एवं ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारदेखि सुरू भएको छ।

महाधिवेशन कात्तिक ३ गतेसम्म काठमाडौंमा हुन लागेको हो।

११ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनएले जनाएको छ।

सम्मेलनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गरेका छन् भने कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकम दहाल ‘प्रचण्ड’ बाट समापन हुने संघले जनाएको छ।

एनआरएनएले ११ औं महाधिवेशनलाई २० औं वर्षगाँठको रूपमा समेत मनाउँदैछ।

सरकार, निजी क्षेत्र र एनआरएनएको संयुक्त आयोजनामा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा र ‘ज्ञान र रूपान्तरण समृद्धिको आधार’ विषयमा केन्द्रित गैरआवासीय ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आयोजना हुन लागेको हो।

सम्मेलनका क्रममा असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ।

त्यस्तै कात्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताएका छन्।

उनका अनुसार पहिलोपटक ‘फेसियल भेरिफेकसन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका ४ हजार २२७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन्।

संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको तथा नेपालमा आएका मतदाताका लागि सम्मेलन स्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको छ।

अध्यक्षमा चार प्रतिस्पर्धी

एनआरएनएको अध्यक्ष पदका लागि चार जनाले प्रतिस्पर्धा गर्दैछन्। 

महाधिवेशनमा अध्यक्षद्वय बद्री केसी र रबिना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

महाधिवेशनमा कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीका लागि निर्वाचन हुनेछ।

सन् २००३ अगस्तमा लन्डनमा सम्पन्न गैरआवासीय नेपालीको एक भेलामा त्यही वर्षको ११ अक्टोबरमा काठमाडौंमा पहिलो विश्व सम्मेलन आयोजना गरी एनआरएनए  स्थापना गरिएको हो।

संस्थाले विश्वभरका करिब १ लाख नेपालीलाई संगठित गरी हाल विश्वका ८६ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ।

पछिल्लो दुई दशकको अवधिमा विदेशमा बस्ने नेपालीमार्फत करिब १ खर्ब लगानी नेपाल भित्रिएको संघको अनुमान छ।

आर्थिक लगानीसँग बौद्धिक लगानी भित्र्याउन पनि संस्थागत प्रयास जारी रहेको संस्थाले उल्लेख गरेको छ।

 

Tags: