post-slider post-slider

रवि लामिछानेसँग काठमाडौं जिल्ला अदालतले माग्यो ६० लाख धरौटी

Image
A A

काठमाडौं - काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी बचत ठगी प्रकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई बुधबार ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो।

गत आइतबारदेखि सुरू भएको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए।

कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइएकाे थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि सरकारी वकिल कार्यालयले उनीविरूद्ध मुद्दा दर्ता गरेको थियाे। 

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेलगायतलाई लागेको छ।

यसअघि गत बिहीबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। याे सँगै उनले दाेस्राे पटक गरी १ कराेड २५ लाख धराैटी बुझाउनु पर्ने भएकाे छ। 

लामिछानेले धरौटीबापतको रकम बुझाएका छन्। अदालतले आदेश दिएलगत्तै लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएका हुन्। 

Tags: