राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरितका विधेयक राजपत्रमा प्रकाशित
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशित भएको छ।
राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो।
राजपत्रमा प्रकाशित भएसँगै जन्मसिद्ध नेपाली नागरिकका सन्तान र बाबुका पहिचान नभएका नेपाली आमाका सन्तानहरूलाई वंशजको नागरिकता पाउने बाटो खुला भएको छ।
अघिल्लो संसदले दुईदुईपटक पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर ‘होल्ड’ गरेकी थिइन्।
भण्डारीले ‘होल्ड’ गरेर शीतलनिवासमा थन्किएको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई आग्रह गरेको थियो।
सरकारको आग्रहपछि पौडेलले १७ जेठमा नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए।
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक शुक्रबार राजपत्रमा प्रकाशित भएको हो।
जन्मसिद्ध नेपाली नागरिकका सन्तान र बाबुका पहिचान नभएका नेपाली आमाका सन्तानहरूलाई वंशजको आधारमा नागरिकता दिने व्यवस्था संविधानले गरे पनि कानुन नहुँदा यो व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन।
संविधान जारी भएको झन्डै आठ वर्षपछि नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न सरकारले विधेयकमार्फत कानुन ल्याएको हो।
विधेयकमा जन्मसिद्ध नागरिकका सन्तान र पहिचान नखुलेका बाबुका साथै गैरआवासीय नेपालीहरूलाई पनि आर्थिक र सामाजिक तथा सांस्कृतिक अधिकारसहित नेपाली नागरिकता पाउने व्यवस्था गरिएको छ।
राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकमा ‘यो ऐन तुरून्त प्रारम्भ हुने छ’ भनिएको छ।
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले अब यो कानुन प्रयोग गरेर सम्बन्धित व्यक्तिले नागरिकता लिन सक्ने बताए।
‘राजपत्रमा प्रकाशित भएसँगै कानुन कार्यान्वयनमा आइसक्यो, ऐनमा स्पष्ट व्यवस्था गरिएको हदसम्म नयाँ ऐनअन्तर्गत नागरिकता पाउनुपर्नेहरूले तत्कालै जिल्ला प्रशासन गएर नागरिकता लिनसक्छन्,’ बस्नेतले भने।
तर, ऐनमा तोकिएबमोजिम हुनेछ भनिएको अवस्थामा चाहिँ त्यसका लागि नियमावली र कार्यविधि बनाउनुपर्ने र त्यसका लागि केही समय लाग्ने उनले बताए।
कार्यान्वयनमा आइसकेको यो ऐनमा जन्मसिद्ध नागरिकका सन्तान र आमाको नामबाट नागरिकता लिने व्यवस्थाका लागि नियमावली आवश्यक नपर्ने अधिकारीहरूको बुझाइ छ।
तर, गैरआवासीय नेपाली नागरिकतासम्बन्धी दफामा भने ‘तोकिएबमोजिम’ भन्ने पदावली राखिएका कारण त्यसका लागि नियमावली वा कार्यविधिहरूको आवश्यक्ता पर्ने गृह मन्त्रालयका प्रवक्ता बस्नेते बताए।
कसकसले पाउँछन् नागरिकता
जन्मसिद्ध नागरिकका सन्तान
यो कानुनले नागरिकता ऐन, २०६३ को दफा ३ मा उपदफा ४ थपेको छ।
उपदफा ४ मा भनिएको छ,‘संवत् २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ।’
यो व्यवस्थाले जन्मसिद्ध नेपाली नागरिकता पाएका झन्डै दुई लाख नागरिकका सन्तानहरू तत्कालै लाभान्वित हुनसक्ने ठानिएको छ।
२०४६ सालअघि स्थायी बसोबास गरिरहेका मानिसहरूलाई २०६३ सालपछि जन्मसिद्धका आधारमा नेपाली नागरिकता दिइएको थियो। गृह मन्त्रालयको अभिलेखअनुसार २०७२ असोज ३ गते नयाँ संविधान जारी हुनुअघि १ लाख ९० हजारले जन्मसिद्ध नागरिकता लिएका थिए।
नयाँ संविधानले उनीहरूका सन्तानलाई संघीय कानुनअनुसार वंशजको नेपाली नागरिकता दिने व्यवस्था गरे पनि कानुन बन्न ढिलाइ भएका कारण उनीरू नेपाली नागरिकता पाउनबाट बञ्चित भएका थिए।
नयाँ संविधान बनेपछि २०७५ सालमा गृह मन्त्रालयले गरेको परिपत्रबाट केही जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता लिए पनि सर्वोच्च अदालतले त्यसलाई रोक्न आदेश दिँदै कानुन बनाएरमात्रै नागरिकता दिन भनेको थियो।
बाबुको पहिचान हुन नसेका व्यक्ति
ऐनको दफा ३ को उपदाफ ५ मा भनिएको छ,‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ।’
यो व्यवस्थाले एक महिलाका सन्तानहरूलाई वंशजको नेपाली नागरिकता बाटो खुलेको छ।
नागरिकताबाट बञ्चित एकल महिलाका सन्तानहरूको संख्या झन्डै ९ लाख रहेको अनुमान गरिएको छ।
नयाँ व्यवस्थाले श्रीमानसँग पारपाचुके गरेका महिलाहरूलाई आफ्ना सन्तानलाई नागरिकता दिन सहज हुने ठानिएको छ।
बाबुको पहिचान नखुलेका सन्तानहरूको नागरिकता लिँदा आमा र सन्तान दुवैले बाबुबारे स्वघोषणा गर्नुपर्ने सर्त राखिएको छ। यस्तो स्वघोषणा झुटो ठहरिए अधिकतम एक वर्षसम्म कैद र एक लाख रूपैयाँसम्म जरिवाना हुने भनिएको छ।
ऐनले विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले पनि वंशजको नेपाली नागरिकता पाउने व्यवस्था गरेको छ।
तर, त्यसका लागि सन्तानले नेपाली नागरिकता पाउने अवधिसम्म बाबु पनि नेपाली नागरिक भइसकेको हुनुपर्ने सर्त राखिएको छ।
गैरआवासीय नेपालीका नातिनातिनासम्म
संविधानले व्यवस्था गरेको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि पनि नागरिकता ऐनको नयाँ संशोधनले व्यवस्था गरेको छ।
ऐनमा थप गरिएको दफा ७ ‘क’ मा भनिएको छ,‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्यराष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे पा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ।’
यो ऐनले विदेशको नागरिकता लिएका तर कुनै समय नेपाली नागरिक रहेकाहरूका नातिनातिनासम्मलाई गैरआवासीय नेपाली नागरिकता लिने बाटो खुला गरेको छ।
थर र ठेगाना रोज्ने व्यवस्था
नयाँ ऐनले बाबु र आमामध्ये आफूले रोजेका थर र ठेगाना राख्ने अधिकार सन्तानहरूलाई दिएको छ।
‘यस ऐनबमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिलाई आमा वा बाबुको थर ठेगानामध्ये निजले रोजेको थर र ठेगाना उल्लेख गरी नागरिकता दिन सकिनेछ,’ ऐनमा थपिएको दफा ८ ‘क’ मा भनिएको छ।