post-slider post-slider

मनसुन सुरू भएयता बाढी-पहिरो र विपदमा परी ८३ जनाको मृत्यु

Image
A A

काठमाडौं- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी-पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको छ।

बाढी-पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। 

साथै, काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्‍चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ६ जना घाइते भएका छन्।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ। बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५ जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।

बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन्। १ सय ४२ वटा घर, ५५ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ४ सय ११ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्‍का घटनाबाट २ हजार ९ सय ५४ घर परिवार विस्थापित भएका छन्।

साथै, बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको बताइएको छ। 

Tags: