post-slider post-slider

वीरमा थपियो भीआईपी र भिभीआईपी कक्ष

Image
A A

काठमाडौं । वीर अस्पतालले विशिष्ठ व्यक्तिहरु (भीआईपी र भिभीआईपी) का लागि थप शैया र सुविधा सहित भीआईपी र भिभीआईपी कक्ष सञ्चालनमा ल्याएको छ । 

वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भीआईपी र भीभीआईपीका लागि दुई शैया छुट्याइएको थियो । अहिले नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर कुल ५ शैया भीआईपी र भीभीआईपीका लागि सुविधा सम्पन्न कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । 

वीर अस्पतालमा सञ्चालनमा आएको भीआईपी र भिभीआईपी कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गरेपछि उक्त कक्ष सञ्चालनमा आएको हो । स्वास्थ्य मन्त्री बस्नेतले भीआईपी र भीभीआईपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भीआईपी र भिभीआईपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए । 

सरकारी खर्चमा विदेशमा गएर उपचार गर्ने प्रचलन रोक्नका लागि वीरमा अहिले चालिएको कदम प्रभावकारी हुने र सम्पूर्ण भीआईपी तथा भिभिआईपीले नेपालमै उपचार गर्ने सुविधा वीरमा उपलब्ध गरेको मन्त्री बस्नेतको दावी छ । 

मन्त्री बस्नेतले भने, ‘वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र नीजि क्षेत्रका गरि १५ सदस्य सहितको विशेषज्ञ चिकित्सकको टीम बनाएका छौ । त्यही टीमले उपचार गर्छ । उपचारका लागि कोही पनि विदेश जानु पर्दैन ।’ 

मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमि हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिए।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स ) का उपकुलपति प्रा.डा. भुपेन्द्र कुमार बस्नेतको संयोजकत्वमा गठन भएको भीआईपी तथा भिभीआईपी उपचार विशेषज्ञ समितिमा डा. किरण श्रेष्ठ, डा. धुर्व गैरे, डा. रविराम श्रेष्ठ, डा. शैली प्रधान, डा. भगवान कोइराला, डा. पुकार चन्द्र श्रेष्ठ, डा.महेश अधिकारी, डा. सुभाष आचार्य, डा. सन्दुक रुइत, डा. शशी शर्मा, डा. रत्न गजुरेल, डा. भोला रिजाल, डा।. मनबहादुर केसी, डा. रमेश चोखानी रहेका छन् । 

उपकुलपति डा. बस्नेतले पहिले पनि भीआईपी र भिभीआईपी उपचारका लागि ओपिडीमा आउने गरेको जानकारी दिदै केही समय यता भर्ना नै हुने गरि कोही नभएको तर अव सुविधा सम्पन्न भएपछि उपचारका लागि आउने विश्वास व्यक्त गरे । उपचार कक्षमा आवश्यक उपकरण सहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतिक्षालय सहित किचेन समेतको सुविधा छ । 

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले पुरानो भवनमा २ र नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर ५ शैयाको भीआईपी तथा भिभीआईपी कक्ष सञ्चालनमा आए पछि उपचारका लागि विदेश जाने चलन कम हुने बताए । बिहान ८ बजेदेखि नै ओपिडी सेवा सञ्चालन गरे पछि अहिले धेरै विरामीले वीर अस्पतालमा सहज रुपमा सेवा पाइरहेको डा। पौडेलले बताए । स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन पछि बिहान ९ बजेपछि सुरु हुने ओपिडी सेवा बिहान ८ बजेदेखि नै सुरु गरिएको छ ।

Tags: