post-slider post-slider

एसिया कप : टिम नेपाललाई इतिहास रच्ने अवसर

Image
A A

काठमाडौं- चार महिनाअघि एसिसी प्रिमियर कपको उपाधि हात पारेर एसिया कपका लागि छनोट हुँदै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले महत्वपूर्ण छलाङ मा¥यो।

एसिया कपका लागि छनोट भएसँगै टिम नेपालका खेलाडीमात्रै होइन सम्पूर्ण नेपाली आफ्नो टिमलाई अन्तर्राष्ट्रिय क्रिकेट जगतमा इतिहास रचिसकेका खेलाडीहरूसँग प्रतिस्पर्धा गरिरहेको हेर्न व्यग्रताका साथ प्रतिपक्षा गरिरहेका थिए।

एक हिसाबले टिम नेपालका सबै शुभचिन्तक उत्साहित थिए, विश्व क्रिकेटमा नाम दर्ज गराइसकेका टिमहरूसँग नेपालको प्रतिस्पर्धा हेर्नका लागि।

अन्ततः आज बुधबार एउटा लामो पर्खाइको अन्त्य हुँदैछ। एसिया कपको उद्घाटन खेल खेलेसँगै टिम नेपालको ‘पाकिस्तानसँग खेल्ने’ र समर्थक तथा शुभचिन्तकहरूको त्यस्तो खेल हेर्ने लामो समयदेखिको चाहना पूरा हुनेछ।

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, नेपाल र अफगानिस्तान टिम एसिया कपमा हिस्सा लिइरहेका छन्।

दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा भइरहेको एसिया कपमा नेपाल क्रिकेट जगतका मजबुत ‘हस्ती’ हरू सहभागी भारत र पाकिस्तानसहितको समूहमा परेको छ।

नेपालले आफ्नो पहिलो खेल यतिबेला एकदिवसीय क्रिकेटमा विश्वकै अग्रस्थानमा रहेको पाकिस्तानसँग खेल्दैछ।

टिम नेपाल पाकिस्तानसँग उद्घाटन खेल खेल्न मुल्तान पुगिसकेको छ। खेल नेपाली समयअनुसार दिउँसो ३ : १५ मिनेटम सुरू हुनेछ। जुन खेल टेलिभिजनमा पनि नेपाली दर्शकहरूले प्रत्यक्ष हेर्न पाउनेछन्।

भारतविरूद्धको दोस्रो खेल श्रीलंकाको क्यान्डीमा भदौ १८ गते हुनेछ।

पाकिस्तान र भारतसँग नेपालको प्रदर्शन कस्तो होला भन्ने विषयमा अनेक टिप्पणी भइरहेका छन्। 

बाबर आजम वा मोहम्मद रिजवानको विकेट कुन बलरले लिने हो जस्ता चर्चाले समर्थकहरूको उत्साहलाई दर्शाउँछ।

कतिपयले विश्वको नम्बर एक टिमविरूद्ध टिम नेपालले कति स्कोर बनाउला भनेर अनुमान लगाइरहेका छन्।

छिमेकी देशले विश्व क्रिकेटमा लामो समयदेखि जमाएको धाकलाई समर्थन वा विरोध गरिरहेका नेपाली समर्थकहरूका लागि नेपालकै समर्थन गर्न पाउनु भनेको निश्चितरूपमा दुर्लभ उत्सव नै हो।

नेपाली खेलाडीहरू यो प्रतियोगितका लागि कति गम्भीर छन् भन्ने धारणा पाकिस्तानसँगको खेलअगाडि टिम नेपालका कप्तान रोहित पौडेलले सामाजिक सञ्जालमा पोखेको स्टाटसले दर्साउँछ।

उनले भनेका छन्,‘चुनौतीको सामना गर्न, सपना पछ्याउन र धैर्यताका साथ खेल्न, ब्याटको हरेक स्ट्रोक, हरेक क्याच र मैदानका हरेक क्षणले हामीलाई लक्ष्यतर्फ नजिक्याएको छ। समर्पण, टिम भावना र अटल समर्थनले हामी एकाग्र भएर टिम र राष्ट्रको आशा लिएर अघि बढेका छौं।’

यो प्रतिस्पर्धालाई जित, हार वा प्रतिद्वन्द्वी भावनालाई पर राखेर कप्तान पौडेलले हेरिरहेका छन्।

टिम नेपालले लिइरहेको उचाइ र त्यसले भविष्यमा नेपाली क्रिकेटलाई अझ राम्रो भविष्यतिर डो¥याउने यो प्रतियोगिताको महत्वलाई बुझेको कतिपयले अर्थ लगाएका छन्।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक भन्छन्,‘एसिया कपमा नेपालले हार्ने केही छैन। पाउनेमात्र हो। त्यसलाई कसरी स्मरणीय बनाउने भन्ने चाहीँ मुख्य हो।’

यही साता एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा उक्लेको पाकिस्तानसँग नेपालको भिडन्त तुलना गर्ने बेला भएको छैन। उनीहरू एसियाकप उचाल्ने धुनमा हुनेछन्।

जबकि यो बेला नेपाली टोलीमा जित हारभन्दा पनि आत्मविश्वास, धैर्यता, टिम एकता, संयमताजस्ता शब्दहरूको महत्व बढी छ।

समर्थकहरूको चाहना यतिमात्र छ– टिम नेपालको प्रदर्शन सम्मानजनक होस्। 

 

Tags: