post-slider post-slider

नक्कली डाक्टर, जसले बनाउँथे नक्कली सर्टिफिकेट

Image
A A

काठमाडौं- प्रहरीले काठमाडौंबाट पक्राउ गरेको नक्कली डाक्टरलाई सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको विराटनगर–२ का सम्बुद्ध भट्टाचार्यलाई सार्वजनिक गरेको हो।

४० वर्षीय भट्टाचार्यलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा आइतबार साँझ महारागञ्जस्थित बाँसबारीबाट पक्राउ गरेको थियो।

कार्यालयका एसपी रवीन्द्र रेग्मीले उनलाई आइतबार साँझ पक्राउ गरिएको जानकारी दिए।

भट्टाचार्यले विभिन्न अस्पतालको नक्कली परिचयपत्र बनाइ क्लिनिकहरूमा थाइराइसम्बन्धी उपचार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

उनले विभिन्न क्लिनिकबाट ४ लाख ८७ हजार ५ सय रूपैयाँ सर्वसाधारणबाट ठगी गरेको प्रहरीले बताएको छ।

प्रहरीको अनुसन्धानमा भट्टाचार्य नक्सालस्थित वी केयर पोलिक्लिनिक र बसुन्धरास्थित धौलागिरी हिमाल पोलिक्लिनिकमा बिरामी जाँच्ने गरेको खुलेको छ।

उनले वी केयरमा ६३० बिरामी जाँच गरी प्रतिबिरामी ७५० रूपैयाँ शुल्क लिने गरेका थिए।

त्यस्तै धौलागिरी क्लिनिकमा प्रतिबिरामी ५ सय रूपैयाँ लिने गरेका उनले ३० बिरामी जाँच गरेका थिए।

भट्टाचार्यले तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवको हस्ताक्षरमा नक्कली सर्टिफिकेट बनाउने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले उनको साथबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नक्कली लेटरप्याड, नक्कली स्ट्याम्पहरू पनि बरामद गरेको छ।

प्रहरीका अनुसार भट्टाचार्य टिचिङ अस्पताल महाराजगञ्जमा समेत काम गरेको पाइएको छ।

 

Tags: