post-slider post-slider

आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Image
A A

काठमाडौं- आज माघ १६ अर्थात सहिद दिवस। देश र जनताको हित तथा अधिकारका लागि सहादत दिएका सहिदप्रति सम्मान गर्दै सहिद दिवस मनाइँदैछ।

विस २०१० देखि हरेक वर्ष माघ १६ गते सहिद मनाउन थालिएको हो।

सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीरहरुप्रति सम्झना गर्दै यो दिवस मनाइँदै आएको छ।

हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाइने गरिन्छ।

वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरु योद्धाहरुको योगदानमा सहिद दिवस मनाउन थालिएको हो।

स्वतन्त्रताको माग गर्दा विस १९९७ मा शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते माथेमालाई सिफलमा र गंगालाल एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

छैन सार्वजनिक बिदा

सहिद दिवसको अवसरमा यस वर्ष सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छैन। यद्यपि अर्को वर्ष भने सहिद दिवसका दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

एक वर्षअघि नै सार्वजनिक बिदासम्बन्धी निर्णय हुने भएकोमा अघिल्लोपटक निर्णय हुन नसक्दा यसपालि बिदा नदिएको गृह मन्त्रालयले जनाएको हो।

‘वैशाखमा वार्षिक क्यालेन्डर प्रकाशित हुने भएकाले बिदासम्बन्धी निर्णय प्रायःजसो पुस–माघमै हुने गर्छ। यसपालिका लागि बिदा दिने नदिने विषयमा निर्णय भएको छैन। त्यसैले सार्वजनिक बिदा नदिइएको हो। अर्को वर्षका लागि गत पुसमा बसेको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको छ,’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।

 

Tags: