post-slider post-slider

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा पुग्यो मतपत्र

Image
A A

काठमाडौं - माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपत्र सबै प्रदेशमा पठाइएको छ।

निर्वाचन आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्रहरू छपाई शुक्रबार सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याएको आयोका सहायक प्रवक्ता श्रीधर पन्थीले बताए।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ।

जसअनुसार प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छ। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छापिएको थियो।

कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र रहेका छन्।

त्यसैगरी, लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९०० मतपत्र रहेका छन्।

२०८० फागुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्यको लागि निर्वाचन हुन गइरहेको छ।

माघ ११ गते सम्वन्धित प्रदेशका तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरूमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने छ। 

मतदानका लागि ३८ प्रकारका कूल ६९१० मतपत्र छापिएको थियो। यस निर्वाचनबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि २०८० फागुन २१ गतेदेखि ६ वर्षसम्म रहने छ।

Tags: