post-slider post-slider

पथरी-शनिश्चरे नगर अस्पतालका संयोजक मुरारी आचार्यमाथि यौनहिंसाको आरोप

Image
A A

पथरी- जबरजस्ती आसय करणीको आरोप लागेका मोरङ पथरी-शनिश्चरे नगर अस्पतालका स्वास्थ्य संयोजक मुरारी आचार्य पीडित महिलाले आरोप लगाएकै दिनदेखि बिदामा रहेका छन्।

पीडित महिलाले पत्रकार सम्मेलन गरेको जानकारी पाएलगत्तै आचार्य बिदामा रहेका छन्।

आचार्यले पीडित महिलाले पत्रकार सम्मेलन गरेलगत्तै पत्रकारसँग समाचार बाहिर ननिकाल्न हारगुहार गरेका थिए।

पीडित महिलाले आचार्यबाट २०७८ देखि २०८० वैशाख ६ गतेसम्म आफूमाथि जबरजस्ती आसय करणीको (महिला हिंसा) भएको बताएकी छन्।

घटना घटेको लामो समय कानुनी पाटोका लागि विभिन्न संघ-संस्था र प्रहरी कार्यलय पुगेकी पीडित महिलाले कतैबाट पनि न्याय पाउने आशा हराएको बताइन्। 

आचार्यले आफ्नो पार्टी कांग्रेसको आडमा पावर लगाएर हद म्याद कटाउन प्रहरीलाई समेत प्रलोभनमा पारेको उनको शंका छ। कानुनी न्याय नपाएसम्म आफू पछि नहट्ने बताउँदै महिला अधिकारकर्मी, मानव अधिकारकर्मी र विभिन्न महिला संघ-संस्थालाई सहयोगका लागि अनुरोध गरेकी छन।

२०७८ मंसिरमा पहिलोपटक नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले आफूमाथि यौन हिंसा गर्न खोजेको र भोलिपल्टै छलफल हुँदा तत्कालीन नगर प्रमुख दिलीपकुमार राई र तत्कालीन प्रदेश सभा सदस्य कृष्णकुमारी राईले घटना ढाकछोप गरेको उनले बताएकी छन्।

पहिलो प्रयास असफल भए पनि उनले आफूलाई पटक-पटक हिंसाको प्रयास गरेको कारण आफूले जोगिन जागिर छोडेको बताएकी छन्।

२०८० वैशाख ३ गते जागिर छाडेकी पीडित महिलालाई ६ गते रिपोट पुर्‍याउँन जाँदा स्वास्थ्य संयोजकको हिंसामा परेको बताएकी छन्।

‘समाजका भद्र भलादमीहरूलाई पनि सुनाएँ। ठूला मान्छेहरूले बैठक पनि गरें। तर मलाई न्याय दिन होइन उसलाई बचाउन भूमिका खेले,’ उनले भनिन्।

छलफलमा तत्कालीन प्रदेश सभा सदस्य कृष्णकुमारी राई, संविधान सभा सदस्य चन्डिप्रसाद राई, तत्कालीन नगर प्रमुख दिलीपकुमार राई, स्थानीय नेता कार्यकर्ता टंक भण्डारी, मान प्रदार लिम्बू, तुलसी ढकाल, बौध कार्की लगायतको छलफलबाट पनि आफूले न्याय नपाएको बताएको उनको भनाइ छ।

नेपाल ऐन २०७२ को लैङ्गिक हिंसाको महल १३ मा आसय करणी अन्तर्गत ‘कसैले कुनै महिलाको मञ्जुरीबिना निजको संवैदनशील अंग छोएमा वा छुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजलाई अस्वाभाविक रूपमा कुनै एकान्त ठाउँमा लगेमा, आफ्नो यौन सम्बन्धी अंग निजलाई छुन, समाउन लगाएमा वा निजलाई अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द, संकेत प्रयोग गरेमा वा चित्र, तस्वीर देखाएमा, यौनका आशयले जिस्काएमा वा अस्वाभाविक, अवाञ्छित वा हैरानी दिएमा वा निजसँग यस्तै अन्य कुनै किसिमले अमर्यादित व्यवहार गरेमा वा निजलाई करणीका आसयले समातेमा यौन दुर्व्यवहार गरेको मानिने छ र त्यस्तो कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना हुनेछ। यस्तो कार्यबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब क्षतिपूर्ति समेत भराई दिनु पर्नेछ’ भनिएको छ।

यता महिलाविरुद्धको हिंसा उन्मूलन सम्बन्धी घोषणापत्र, १९९३ मा विभिन्न अन्तर्राष्ट्रिय दस्तावेजहरूले ‘महिलाविरुद्ध हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्य हो, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्‍याउँदछ वा पुर्‍याउने सम्भावना हुन्छ, जसअन्तर्गत त्यस्तो कार्य गर्ने धम्की, दबाब र स्वेच्छाचारी रुपमा महिलाको स्वतन्त्रतामा बन्देज समेत पर्दछ’ भनेर उल्लेख गरेको छ।

तत्कालीन नगर प्रमुख राई र प्रदेश सदस्य कृष्णकुमारी राईले घटना दबाए पनि चन्डिप्रसाद राई र बौध कार्कीले असहमति जनाएको पीडित महिलाको भनाइ छ।

‘उहाँहरूले कानुनी पाटोमा लानुस् भन्दा छोरी मान्छेको इज्जत र नगरको बदनाम हुन्छ भन्दै घटना दबाए,’ उनले भनिन्।

यता, उत्त घटनाबारे चन्डिप्रसाद राई, बौध कार्की, तुलसी ढकाल र टंक भण्डारीसँग बुझ्दा घटना यथार्थ रहेको र दबाइएको बताएका छन्।

आचार्यले भने आरोप मात्र भएको र आफूले त्यस्तो नगरेको बताए।

तर, उनलाई कामका विषयमा सम्झाएको बताए। उनले उल्टै आरोप लगाउने युवतीको चरित्र नै ठिक नभएको प्रतिक्रिया दिए।

Tags: