post-slider post-slider

जागिरबाट निकालिए महामारीमा काम गरेका वीरका २७६ कर्मचारी

Image
A A

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीमा काम गरेका वीर अस्पतालका २७६ जना कर्मचारीलाई एकैपटक सेवाबाट हटाएको छ। स्वास्थ्यमन्त्रीको निर्देशनमा ठूलो संख्यामा कर्मचारी हटाइएको हो।

एकै पटक ठूलो संख्यामा कर्मचारी कटौति गर्दा अस्पतालको शल्यक्रियादेखि आईसीयूसम्मका सेवा प्रभावित भएका छन्। कोरोना महामारीको समयमा वीर अस्पतालको सर्जिकल भवन सञ्चालनका लागि स्वास्थ्य मन्त्रालय मातहातमा ८३१ दरबन्दी सृजना गरेकोमा यसपटक ठूलो संख्यामा कर्मचारी कटौति गरिएको हो।

बेड संख्या बढाउनुका साथै आकस्मिक, डायलाइसिस, अप्रेशन (ओटी) लगायतका सेवा बढाएकाले करारका दरबन्दीलाई निरन्तरता दिन अस्पतालले असारमा मन्त्रालयलाई आग्रह गरेकोमा मन्त्रालय त्यसतर्फ सकरात्मक नदेखिएको हो। 

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बजेट दिन नसक्ने बताएपछि १५ असोजमा बसेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्को बैठकले २७६ जना कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको छ।

अहिले देशको आर्थिक अवस्था राम्रो नभएको र स्वास्थ्य मन्त्रालयबाट थप बजेटको व्यवस्था गर्न नसकिने तथा करारमै राख्ने परे आफ्नै आन्तरिक स्रोतले राख्न निर्देशन भएपछि आफ्नै आम्दानी राख्न नसक्ने अवस्था नरहेकाले कर्मचारी हटाउनु परेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए।

अस्पताल प्रशासनका अनुसार २७६ जना कर्मचारीको तलब भत्ताका लागि एक महिनामा एक करोड आवश्यक पर्छ। कोरोना महामारीमा दिनरात काम गरेको आफूहरुलाई पूर्वसूचना समेत नदिई हटाएको कर्मचारीहरुको गुनासो छ। अप्ठ्यारोमा सरकारलाई सहयोग गरेकोमा अहिले अवस्था सहज बन्दा सरकारले नै आफूहरूको बेवास्ता गरेको उनीहरूको गुनासो छ।

Tags: