post-slider post-slider

सुन तस्करी प्रकरण : ५० जनालाई प्रतिवादी बनाउन सिआइबीको राय

Image
A A

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ।

सिआइबीले उनीहरूमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरेको छ।

यो प्रकरणमा आरोपीहरूमाथि हालसम्म भन्सार ऐन, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, अपराधसंहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबाहीका लागि सिफारिस गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारिएको सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहहरूले विभिन्न सातवटा कम्पनीबाट ३६२ किलोभन्दा बढी ुन तस्करी गरेको खुलेको जानकारी दिइन्।

बज्राचार्यका अनुसार हिसाब गर्दा अहिलेको मूल्यमा ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रूपैयाँ मूल्य बराबरको सुन तस्करी भएको छ।

तस्करी भएको यो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि सिआइबीले राय दिएको छ।

सुन तस्करी प्रकरणमा ३२ जना पक्राउ परेका छन्। जसमध्ये २३ जना नेपाली र ९ जना विदेशी रहेकोमा १८ जना फरार रहेका छन्।

यो प्रकरणमा प्रत्यक्षरूपमा ४२ जनाको टोलीले ३५ दिनसम्म अनुसन्धान गरेको सिआइबीले जनाएको छ।

सिआइबी प्रमुख बज्राचार्यले प्राविधिक पाटोसहितलाई हेरेर अझै वैज्ञानिक बनाउने काम गरिएको बताइन्।

उनका अनुसार अनुसन्धानका साथै विशेषज्ञ टोलीलाई समेत राखेर वैज्ञानिक तरिकाले अनुसन्धान गरिएको छ।

त्यसपछि अपरेनसनल टोलीले विभिन्न ठाउँमा पक्राउ तथा बरामद गर्ने, लोकेसन भेरिफाइ गर्नेलगायतका काम गरेको, अर्को डकुमेन्टेसन टोलीले अभियोजनलगायतका कामलाई कानुनसम्मत बनाएको र आन्तरिक तथा बाह्य समन्वयको टोलीले समेत सहयोग पु¥याएको बज्राचार्यले जानकारी दिइन्।

सुन प्रकरणको अनुसन्धान टोलीका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले तस्करहरूले सुरूमा ट्रायल गरेर परीक्षण गरेपछि मात्रै सुन तस्करी गरेको पाइएको बताए।

विभिन्न सातवटा कम्पनीबाट सुन तस्करी भएको र अहिले रेडी ट्रेठका नाममा आएको सुनको मात्रै अनुसन्धान सकिएको तर बाँकी अनुसन्धान जारी रहने उनले बताए।

तहगतरूपमा मान्छे तयार पारेर तस्करी गरेको पनि पाइएको बताउँदै थापाले ती कम्पनीले अटो पार्टमा सुन ल्याएको जिकिर गरे।

उनले हङकङमा रहेको कार्गो कम्पनीले सुन पठाएको र लाजिम्पाट तथा टोखामा लगेर गाल्ने तथ्य पनि फेला परेको बताए।

भन्सारको भौतिक मूल्याङ्कन र जाँचपासका सबै प्रक्रियामा जोखिम व्यवस्थापन शाखाले मनिटरिङ गर्दछ। तर, त्यहाँ संलग्न कर्मचारीहरू पनि अनुसन्धानको दायरामा रहेका छन्।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक सुमा हालेर ल्याइएको सुन सिनामंगलस्थित सडकबाट बरामद गरेको थियो।

विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरण अनुसन्धानको जिम्मा सिआइबीलाई दिएको थियो।

ब्रेक सुसहितको सुन १५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो ७१६ ग्राम पुगेको थियो।

 

Tags: