post-slider post-slider

एनसेलको सेयर खरिदबिक्री प्रक्रिया रोक्न सरकारलाई लेखा समितिको निर्देशन

Image
A A

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिदबिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले एनसेलको सेयर खरिदबिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको हो।

समितका सभापति ऋषिकेश पोखरेलले बैठकले एनसेलको अहिले चलिरहेको सेयर खरिदबिक्री प्रक्रिया तत्काल अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको जानकारी दिए।

पोखरेलका अनुसार यो प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समितिमा डाकेर छलफल गरिने छ।

‘एनसेलगायत भ्रष्टाचार र अनियमितताका विषयमा प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने, एनसेल खरिदबिक्रीका जुन प्रक्रिया चलिरहेको छ त्यसलाई तत्काल रोक्न सरकारलाई निर्देशन दिने निर्णय भयो,’ उनले भने।

एनसेलको सेयर खरिदबिक्री प्रक्रियामा सेयर अंक अस्वभाविक र करछली भएको आशंका रहेकाले छानबिन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको पोखरेलले बताए।

बैठकमा धारणा राख्ने अधिकांश सांसदहरूले एनसेलको सेयर खरिदबिक्री प्रकरणमा उच्चस्तरका नेताहरूको समेत संलग्नता रहेको आरोप लगाएका थिए।

उनीहरूले नेपालमा लगानीको वातावरण नभएर बाहिरिन लागेको भन्ने एनसेलको विज्ञप्तिका विषयमा पनि सरकारको प्रष्ट धारणा आउनुपर्ने बताएका थिए।

बैठकमा सांसदहरू अमरेशकुमार सिंह, अर्जुननरसिंह केसी, हरि ढकाल, मनिष झा, राजन केसी, योगेश भट्टराई, राजेन्द्र लिङ्गदेनलगायतले बोलेका थिए।

 

Tags: