post-slider post-slider

बुलेटप्रुफ रेल चढेर रूस यात्रामा किम जङ अन

Image
A A

काठमाडौंं- उत्तर कोरियाली नेता किम जङ अन बुलेटप्रुफ रेल चढेर रूसको यात्रामा निस्किएका छन्। 

उनको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भ्लादिभोस्टकमा भेट्ने योजना छ।

एक अमेरिकी अधिकारीका अनुसार रूसले युक्रेनबाट प्रत्याक्रमण झेलिरहकको बेला दुई नेताबीच शस्त्र सम्झौताबारे छलफल हुनसक्छ।

दक्षिण कोरियाका रक्षा मन्त्रालयले किमको रेल मंगलबार बिहान रूसी भूमिमा प्रवेश गरेको पुष्टि गरेको छ।

किमसँग उनको सरकारका वरिष्ठ पदाधिकारीहरू र सैन्य अधिकारीहरू पनि भएको उत्तर कोरियाका सरकारी समाचारसंस्था केजिएनएले जनाएको छ।

किम र पुटिनबीच हुने छलफलको मुख्य विषयवस्तुमा प्योङ्याङले मस्कोलाई युक्रेन युद्धमा सहयोग पुग्ने गरी हातहतियार दिने कुरा हुनसक्ने यसअघि एक अमेरिकी अधिकारीले बताएका थिए।

यसअघि किम आफ्नो अन्तिम विदेश भ्रमणमा रूसको भ्लाडिभोस्टक नै गएका थिए। उत्तर कोरियाको परमाणुनिरस्त्रीकरण वार्ता विफल भएपछि त्यहाँ उनको र तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट भएको थियो।

उत्तर कोरियाली नेताहरूको पुरान परम्परा अनुसरण गर्दै किमले पनि १ हजार १८० किलोमिटर यात्राका लागि सुस्त गतिमा गुड्ने रेलमा झन्डै २० घन्टा बिताउने छन्।

किम चढेको रेलमा फ्रान्समा उत्पादित मदिरा र विभिन्न परिकार उपलब्ध एउटा रेस्टुराँ पनि भएको बताइन्छ।

निकै गह्रौं रहेको यो रेल प्रतिघन्ट ५० किलोमिटरको गतिमा चल्छ।

तुलना गरेर हेर्ने हो भने लन्डनको द्रुत गतिको रेल प्रतिघन्टा २ सय किलोमिटर र जापानको शिन्कान्सेन बुलेट रेलको गति ३२० प्रतिघन्टा छ।

किमको लामो यात्राले उत्तर कोरियामा विद्यमान रेल सञ्जाल पुरानो भएको संकेत गर्छ।

किम चढ्ने यो रेलको नाम उत्तर कोरियाका संस्थापक नेता किम इल सङको नामबाट ‘तायङ्घो’ राखिएको छ। त्यसको अर्थ घाम भन्ने हुन्छ।

लामो समयसम्म सम्मान पाएको रेल

रेलबाट लामो दूरीको यात्रा किम जङ अनका हजुरबुवा किम इल सङले सुरू गरेका थिए। उनले भियतनाम र पूर्वी युरोपका यात्रामा निस्कँदा आफ्नै रेल प्रयोग गरेका थिए।

निकै आरामदायी यस्ता रेलहरूमा उच्च सुरक्षा पहरा हुन्छ। यहाँ रहेका सुरक्षा अधिकारीहरूले रेलको मार्ग र आउन लागेको स्टेशनमा बम वा अन्य कुनै खतरा रहे नरहेको राम्रोसँग जाँच गर्छन्।

उत्तर कोरियामा सन् १९९४ देखि मृत्युपर्यन्त सन् २०११ सम्म शासन गरेका किम जङ अनका बुवा किम जङ इल विमानमा यात्रा गर्न डराउने भएका कारण रेलमा यात्रा गर्ने गरेको बताइन्छ।

किम जङ इल सन् २००१ मा पुटिनलाई भेट्न मस्को जाँदा १० दिनसम्म रेलमा यात्रा गरेको विषय निकै चर्चित थियो।

रेलमै शयनकक्ष र टेलिभिजन पनि

सन् २००१ मा दक्षिण कोरियाको दैनिक पत्रिका ‘जोसन इल्बो’ ले उल्लेख गरेअनुसार किम जङ इलको बख्तरबन्द रेलमा झन्डै ९० डिब्बा थिए।

पहेँलो धर्सा भएका हरियो रंगको रेलमा सभाहलदेखि दर्शकदीर्घा र शयनकक्ष पनि थिए। त्यो रेलमा सञ्चारका लागि स्याटेलाइट फोन र टेलिभिजनहरू पनि थिए।

रूसमा बनेको निजी विमानमा कैयौंपटक उडेका किम जङ अनलाई उनका बुवाको जस्तो विमान चढ्न डर नलाग्न सक्छ।

 

Tags: