post-slider post-slider

बन्धक रिहा गर्न हमासले अघि सार्‍यो सर्त

Image
A A

काठमाडौं- इजरायलसँग संघर्ष सुरू भएपछि गाजापट्टीमा हमासका नेता याह्ना सिनवारले पहिलोपटक बन्धक रिहाइका लागि प्रतिक्रिया दिएका छन्।

सिनवारले बन्धक रिहाइका लागि इजरायलसामु सर्त अघि सार्दै प्रतिक्रिया दिएका हुन्।

उनले इजरायल जेलमा रहेका हमास कैदीलाई रिहा गर्ने सर्तमा बन्धकलाई छाड्ने बताएका छन्।

हमासको आधिकारिक वेबसाइटमा वक्तव्य जारी गरेर उनले भनेका छन्,‘हामी बन्धकलाई तत्काल छाड्न तयार छौं। तर, त्यसका लागि जियोनिस्ट दुश्मनको कैदमा रहेका हमासका मान्छे र इजरायलविरूद्ध प्रतिरोध आन्दोलनमा भाग लिनेलाई छोड्नुपर्छ।’

इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले हमासको प्रस्तावमाथि उनको युद्ध क्याबिनेटमा चर्चा भएको बताएका छन्।

यद्यपि उनले यसबारे विस्तृत जानकारी दिएका छैनन्।

बिन्यामिनले यो प्रस्ताव स्वीकार गरे उल्टो असर हुनसक्ने बताएका छन्।

इजरायलले गाजामा हवाइका साथै जमिनबाट समेत आक्रमणलाई तीब्र गरेपछि बन्धकका आफन्तहरू चिन्तित देखिन थालिएका छन्।

इजरायल सरकारमाथि बन्धकका आफन्तहरूले दबाब बढाइरहेका छन्। हमासको कैदमा रहेका उनीहरूलाई तत्काल रिहा गराउन बन्धकका आफन्तहरूले सरकारमाथि दबाब दिइरहेका छन्।

७ अक्टोबरमा हमासले आक्रमण गरेपछि इजरायलमा १४ सय जनाको मृत्यु भएको थियो।

जवाफी कारबाहीस्वरूप गाजामा हवाइ आक्रमण सुरू गरेको इजरायलले पछिल्लो समय जमिनबाट समेत आक्रमण गरिरहेको छ।

इजरायलको डिफेन्स फोर्स (इडिएफ) ले जनाएअनुसार उसका ट्यांकहरू गाजा क्षेत्रमा प्रवेश गरेर आक्रमणलाई तीब्र पारेको छ।

इजरायलले गरेको आक्रमणमा ७ हजारभन्दा बढी मानिसको मृत्यु भएको हमासले दाबी गरेको छ।

 

Tags: