post-slider post-slider

सरकारी छाप दुरुपयोग कसुरमा नेविसंघका नेतासहित ३ जना पक्राउ

Image
A A

पोखरा - सरकारी कार्यालयका छाप नक्कली बनाएर दुरुपयोग गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरा-१९, पुरनचौर घर भई पोखरा-९ नयाँबजार बस्ने २८ वर्षीय सतीश बास्तोला, चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र पोखरा ९ मै बस्ने विवेक श्रेष्ठ रहेका कास्की प्रहरीले जानकारी दिएको छ।

बास्तोला नेपाली कांग्रेसनिकट नेविसंघ नेता हुन् भने श्रेष्ठ प्रिन्टिङ प्रेस सञ्चालक हुन्। गिरी कन्सल्टेन्सी चलाउँछन्।

तीनै जना सरकारी छाप कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।

उनीहरूका साथबाट प्रहरीले विभिन्न सरकारी कार्यालय, संघसंस्था तथा व्यक्तिगत नाम उल्लेख गरिएका २४ थान छाप र जंगली जनावरको सिङ पनि बरामद भएको छ।

यस्तै जरायोको सिङ २ थान, छापहरू बनाउन प्रयोग भएको मेसिन थान १, मनिटर थान १, सीपीयू थान १ बरामद भएको प्रहरीले जानकारी दिएको छ। 

बास्तोला पृथ्वीनारायण क्याम्पस नेविसंघका पूर्वसभापति हुन्। फागुन १ गते मात्रै बास्तोलाको पदावधि सकिएर नयाँ कार्यसमिति बनेको थियो। 

पोखरा वडा नं ९,  नयाँबजारमा रहेको ब्लूहोम डेकोरमा सरकारी कार्यालयका छाप तथा जंगली जनावर जरायोको सिङसमेत लुकाइछिपाई राखेको सूचना प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराको प्रहरी टोलीले छापा मारको थियो।

बास्तोलाले ती अवैध कागजपत्र पोखराको नयाँबजारमा रहेको फाइन डिजाइन अफ प्रिन्टमा बनाएको खुलाएपछि प्रहरीले उक्त प्रिन्टका संचालक श्रेष्ठलाई पक्राउ गरेको थियो। श्रेष्ठले ती कागजात चिप्लेढुंगामा संचालित जीडीएस कन्सल्टेन्सीका सञ्चालक गिरीका लागि बनाइएको खुलाएका थिए। 

तीनै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट १० म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ।

Tags: