नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी, कति मन्त्रालय पायो भाग?
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएको छ। नागरिक उन्मुक्ति पार्टी र मुख्यमन्त्री कमलबहादुर शाहबीच भएको वार्ताका क्रममा सरकारमा सहभागी हुने सहमति भएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्य मन्त्री र नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरीलगायतका नेताबीच वार्ता भएको थियो। छलफलमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र कैलाश चौधरीसहित केन्द्रीय उपाध्यक्ष सुनिता चौधरी सहभागी थिए।
आजको छलफलमा भोलि ४ बजे नयाँ मन्त्रीको शपथ गराउने सहमति भएको नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए। नागरिक उन्मुक्तिले दुई मन्त्रालय पाउने सहमति भएको बताइएको छ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम टुंग्याएको पार्टीले जनाएको छ। सहमति अनुरुप उनीहरूले भोलि ४ बजे सपथ ग्रहण गर्ने छन्।