post-slider post-slider

पुटिनविरूद्ध सैन्य विद्रोह गरेको वाग्नरका प्रमुख प्रिगोजिन सवार विमान दुर्घटना

Image
A A

काठमाडौं- रूसको उड्डयन अधिकारीहरूले वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजित सवार एक विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा सबै यात्रुहरू मारिएको बताएका छन्।

विमान सञ्चालक निकायले दिएको जानकारीअनुसार त्यसमा वाग्नरका वरिष्ठ कमान्डर डिमित्री उत्किन पनि सवार थिए।

विमानमा सवार सबै १० जनाको शव फेला परेको जनाइए पनि उनीहरूको परिचय खुलाइएको छैन।

वाग्नर समूहसँग जोडिएको सामाजिक सञ्जालको एक एकाउन्टमा प्रिगोजिन मारिएको उल्लेख गरिएको छ। र, त्यसमा विमान खसालिएको भन्दै रूसी हवाइ प्रतिरक्षा निकायलाई दोष लगाइएको छ।

जुनमा छोटो समयका निम्ति उनले अगुवाइ गरेको विद्रोहको घटनापश्चात येभ्गेनी प्रिगोजिन खासै सार्वजनिक रूपमा देखा परेका थिएनन्।

पछिल्लो पटक यही साता जारी एक भिडियोमा उनी अफ्रिकामा रहेको बताइएको थियो।

युक्रेन युद्ध मामिलालाई लिएर प्रिगोजिनको रूसी सैन्य संस्थापनसँग चर्को झगडा देखिन्थ्यो।

बारम्बार उनले रूसी जर्नेलहरूलाई अश्लील गाली गर्ने गर्थे र संसारभरि उनको नाम चर्चित भएको थियो।

राष्ट्रपति पुटिनसँगको समझदारीअनुसार उक्त विफल विद्रोहपश्चात उनी बेलारूसमा गएर बस्ने बताइएको थियो।

युवा अवस्थामा जेल परेका उनी पछि सफल रेस्टुराँ व्यवसायी बने। पुटिनसँगको निकटताका कारण उनलाई पुटिनको भान्से पनि भनिन्थ्यो।

वर्षौंसम्म उनले वाग्नर समूहसँग आफ्नो सम्बन्ध अस्वीकार गर्दै आएका थिए।

तर, गत वर्षको सेप्टेम्बरमा उनले वाग्नरको स्थापना आफैंले गरेको बताए।

सन् २०१४ मा पहिलोपटक वाग्नरको उपस्थितिबारे थाहा भएदेखि नै यो समूह बर्बरताका निम्ति कुख्यात भयो।

यो समूहका लडाकुहरू युक्रेन, सिरिया र पश्चिम अफ्रिकी देशका युद्धहरूमा खटाइएका छन् जहाँ तिनले क्रुर यातना दिएका अनि गैरन्यायिक हत्या गरेका आरोप लागेका छन्।

वाग्नरको कैयन लडाकुहरू जेल परेका अपराधीहरूबाट चयन गरिने गरिएको बताइन्छ। तिनले जेल जीवन जिउनुको साटो वाग्नरमा भर्ना हुने छनोट गर्न पाउने बताइन्छ।

 

Tags: