.png)

नक्कली नियुक्तिपत्र बनाएको आरोपमा धनुषाकी एक शिक्षिकाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- धनुषाको मिथिलाबिहारी नगरपालिका–९ स्थित श्री रामजानकी प्राथमिक विद्यालयका शिक्षिका निलमकुमारी यादवलाई नक्कली नियुक्तिपत्र बनाएको आरोप लागेको छ।
२०७१ असोज ७ मा श्री भानु उच्च माध्यमिक विद्यालय किसानपुरबाट रामजानकी विद्यालयमा दरबन्दी पदस्थापन गरेको नियुक्ति नक्कली रहेको भन्ने उजुरीसम्बन्धमा अनुसन्धान हुँदा यादवले भानु उच्च माध्यमिक विद्यालय किसानपुर धनुषाको पत्र नक्कली बनाएको खुलेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।
सोही पत्रको आधारमा श्री राम जानकी प्राथमिक विद्यालय कटरैतमा पदस्थापन भइ नपाएको अधिकार, शिक्षक पदको ओहदा, हैसियत र सुविधा प्रयोग गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिम कैद र जरिवाना हुन माग गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
सरकारी निकाय वा संस्थालाई हानी पु¥याउने बदनियतले यादवसँग नक्कली विस्थापन तथा पदस्थापन कार्यमा मिलेमतो गर्ने तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलको संलग्नतासमेत पुष्टि भएको आयोगले जनाएको छ।
यादव र मण्डललाई भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र जरिवाना हुन मागदाबी लिइ मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।