post-slider post-slider

१६ दिनदेखि बिजुली नहुँदा कैलालीको जानकी गाउँपालिका वासी सास्तिमा

Image
A A

धनगढी- कैलालीमा अहिले गर्मी र बाढीको त्रास छ। वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ। गर्मी र बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला? सहजै अनुमान गर्न सकिन्छ। 

कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन। यही साउन १५ गते ट्रान्समिटर पड्किँदा जगतपुर गाउँका सयौँ परिवार बिजुलीबाट वञ्चित भएका हुन्। बर्खाको समयमा विद्युत् सेवा नहुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन्। बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादुर न्यौपानेले बताए।  

“राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिँदैन”, उनले भने, “१६ दिन वित्दा पनि बत्ती आउने कुनै टुङ्गो छैन।”

बिजुली नभएपछि सबैभन्दा बढी समस्या बालबालिका र वृद्धवृद्धालाई भएको छ। “मेरा साना दुई बच्चा छन्। रातभरि सुत्न सक्दैनन्, रातभरि गर्मीले छट्पटाउँछन्”, स्थानीय समिरा चौधरीले भनिन्, “गर्मीले घरमा बस्न सक्ने अवस्था छैन। साह्रै दुःख भयो।”

जगतपुर गाउँमा करिब ८५० परिवारले बिजुली उपभोग गर्दै आएका थिए। स्थानीय चौराहामा जडान गरिएको १६० केभीको ट्रान्समिटर पड्किँदा चौराहाभन्दा पूर्व रहेका गाउँमा विद्युत् सेवा अवरुद्ध छ। लामो समयसम्म गाउँमा विद्युत् नहुँदा आफूहरु उज्यालोका लागि टर्च लाइट र मोबाइल चार्ज गर्न छिमेकी गाउँमा पुग्नुपर्ने बाध्यता बनेको स्थानीय मञ्जु न्यौपानेले बताइन्।  

लामो समयदेखि विद्युत् नभएपछि स्थानीयका घरमा रहेका मेशिनरी सामानसमेत बिग्रन थालेका छन्। ट्रान्समिटर पड्किँदा रु तीन लाख ५० हजार मर्मतमा खर्च भइसकेको र १५ दिनको अवधिमा पाँचपटक मर्मत गरी फेरबदलको काम गर्दा पनि समस्या समाधान नभएको सहकारीका सचिव गौरीकान्त न्यौपानेले बताए।  

“हामीले धेरै खर्च गर्न सक्ने अवस्था छैन”, उनले भने, “गाउँ अन्धकार भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समस्या राखेका छौँ, सहयोग गर्छु भन्नुभएको छ।” - रासस

Tags: