post-slider post-slider

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

Image
A A

काठमाडौं- नयाँ वर्षको पहिलो दिनमै मध्य जापानमा एउटा शक्तिशाली भूकम्प गएको छ।

जापानको नोटो प्रान्तमा ७.६ म्याग्निच्युडको भूकम्प गएको समाचारसंस्था रोयटर्सले जनाएको छ।

भूकम्प अनामिजु सहरनजिकै गएको बताइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनी जारी गरिएको छ।

समुद्री तटमा रहेका मानिसहरूलाई उच्च भागतर्फ जान अधिकारीहरूले आग्रह गरेका छन्।

जापानी राष्ट्रिय प्रसारक एनएचकेका अनुसार नोटो क्षेत्रको इशिकावा जिल्लाको तटीय क्षेत्रबाट मानिसहरूलाई तत्काल उच्च भागमा जान निर्देशन दिइएको छ।

एनएचकेका अनुसार झन्डै पाँच मिटरजति अग्लो छाल नोटो क्षेत्रमा पुगेको छ।

अधिकारीहरूले छिमेकी निगाता र तोयामा जिल्लामा पनि सुनामीको चेतावनी जारी गरेका छन्।

ती क्षेत्रमा झन्डै तीन मिटर अग्ला छाल पुग्नसक्ने चेतावनी दिइएको छ।

भूकम्पपछि भएको क्षतिको यकिन विवरण आइसकेको छैन।

जापानमा भूकम्प जानु नौलो नभए पनि त्यसका कारण उत्पन्न हुने सुनामीले ठूलो धनजनको क्षति गराउनसक्ने ठानिएको छ।

टेलिभिजनहरूले मानिसहरूलाई तटीय क्षेत्र छाड्न आग्रह गरिएका सूचनाहरू प्रसारण गरिरहेका छन्।

 स्थानीय बासिन्दाहरूले भूकम्पपछिको अवस्थाबारे विभिन्न स्थानबाट भिडियोहरू सामाजिक सञ्जालमा राखिरहेको देखिएको छ।

जापानको सबैभन्दा ठूला परमाणु ऊर्जा सञ्चालन केन्द्र कान्साइ इलेक्ट्रिकलले प्रभावित क्षेत्रका आफ्ना केन्द्रहरू अस्वाभाविक गतिविधिहरू नदेखिएको जनाएको छ।

दक्षिण कोरियाको मौसम विज्ञानसम्बन्धी निकिायले उक्त सुनामीको छाल त्यो देशको पूर्वी तटमा स्थानीय समयअनुसार बेलुका साढे ६ बजेदेखि सवा सात बजेसम्ममा पुग्नसक्ने जनाएको छ।

 

Tags: