राष्ट्रपति पौडेल जनकपुरधाम जाँदै, नागरिक अभिनन्दन गरिने
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल जनकपुधाम जाने भएका छन्। आगामी जेठ ३१ गते उनी जनकपुरधाम जान लागेका हुन्।
राष्ट्रपति पौडेल जनकपुरधाम जाने भएपछि उनको स्वागतका लागि तयारी थालिएको छ।
जनकपुरधाममा पौडेलको स्वागतका कार्यक्रम लागि नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले सक्रियता अगाडि बढाएका छन्।
शनिबार जनकपुरधाम पुगेर उनले राष्ट्रपति पौडेलको आसन्न भ्रमणका विषयमा सर्वपक्षीय बैठक बोलाएर निधिले छलफल गरेका हुन्।
जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र नेता निधिको पहलमा भएको सर्वपक्षीय बैठकमा सबै राजनीतिक दलका प्रतिनिधिका साथै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
जनकपुरधाम उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित सर्वपक्षीय बैठकमा निधिले जानकी मन्दिरमा पूजा र दर्शन गर्ने राष्ट्रपति पौडेलको पहिलेदेखि चाहना रहे पनि नागरिकता विधेयक प्रमाणीकरण भइसकेपछि मात्रै जाने बताएको जानकारी गराए।
‘जनकपुर पुगेर जानकी मन्दिरमा पुजा र दर्शन गर्ने उहाँले पहिले नै चाहना व्यक्त गर्नुभएको थियो,’ निधिले सर्वपक्षीय बैठकमा भने,‘तर, नागरिका विधेयक प्रमाणीकरण गरेर मात्रै जनकपुर जाने अठोटसमे राख्नुभएको थियो। नागरिकताविहीन लाखौं युवाहरूको समस्या समाधान गरेर उहाँ जनकपुर आउन चाहनुभएको छ।’
आफ्नो भ्रमणका क्रममा नागरिकलाई कुनैखाले अप्ठ्यारो नपर्ने गरी व्यवस्था मिलाउन राष्ट्रपति पौडेलको सन्देश रहेको निधिले बताए।
नेता निधिले राष्ट्रपति पौडेललाई जनकपुरधाममा भव्य स्वागतका साथै नागरिक अभिनन्दन गर्न प्रस्ताव राखेका थिए।
उनको यो प्रस्तावमा बैठकमा उपस्थित सबै दलका प्रतिनिधिहरूले सहमति जनाएको छ।
बैठकको सहमतिअनुसार स्थानीय तिरहुतिया गाछीमा जनकपुरधामका स्थानीयवासीका तर्फबाट राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने भएको छ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले धनुषाका सबै प्रत्यक्ष र समानुपातिक सांसदहरू सहितको मूल समितिसहित अन्य उपसमितिहरू बनाएर राष्ट्रपति पौडेलेको जानकी मन्दिरमा हुने पुजाआजादेखि तिरहुतिया गाछीमा भव्य स्वागत र नागरिक अभिनन्दनका लागि तयारी थाल्ने सर्वसम्मत निर्णय भएको जानकारी दिए।
सर्वदलीय बैठकमा प्रदेस सांसदहरू रामसरोज यादव र दीपेन्द्र ठाकुरका साथै उपमेयर किशोरी साह, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शीतल साह, उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।