post-slider post-slider

दूध त बिकेन नै, बिकेको पनि भुक्तानी नपाएपछि सडकमै बगाएर आन्दोलन

Image
A A

भरतपुर- चितवनका दूध उत्पादक किसानले सडकमै दूध बगाएर आन्दोलन गरेका छन्।

दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण नभएको भन्दै उनीहरूले भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर सांकेतिक आन्दोलन गरेका हुन्।

दूधले बजार नपाएको अवस्थामा र बिक्री भएको दूध र दुग्धजन्य पदार्थको समेत भुक्तानी नपाएको भन्दै किसानहरूले विरोधस्वरूप यसखाले आन्दोलन गर्नुपरेका आन्दोलनमा सहभागी एक किसानले बताए।

चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न सहकारीमा आबद्ध किसान आन्दोलनमा आएका थिए।

उनीहरूले सडकमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएका छन्। त्यसपछि किसानहरू फेरि सडकमा नारा लगाउँदै केन्द्रीय बस टर्मिनल चोकमा पुगेर दूध पोखेका थिए।

पछिल्ला महिनाहरूमा दूध बिक्री वितरण हुन छाडेको, बल्लतल्ल बिक्री भएको दूधको समेत भुक्तानी नपाएकोले सडकमै दूध पोखेर आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको चितवन जिल्ला दुध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए।

Tags: