post-slider post-slider

स्पेनिस ला लिगा : बार्सिलोना र रियलको जित

Image
A A

काठमाडौं- स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड र बार्सिलोनाले सफलता हात पारेका छन्।

रियलले घरेलु टोली मलोर्कालाई १–० ले पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत बनाएको छ।

रियलको जितमा दोस्रो हाफमा ओरेलिएन चुआमेनीले गरेको गोल नै निर्णायक बन्यो। मलोर्कामा शनिबार राति भएको खेलमा रियलले घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो।

चुआमेनीले ४८औं मिनेटमा झन्डै ३० यार्डबाट गरेको प्रहार विपक्षी खेलाडीलाई लाग्दै जाली चुम्न पुग्दा मलोर्काका गोलरक्षकले रोक्ने कुनै मौका नै पाएन।

यस जितसँगै शीर्षस्थानमा रहेको रियलको ३१ खेलबाट ७८ अंक पुगेको छ। रियलले दोस्रो स्थानमा रहेको बार्सिलोनालाई ८ अंकले पछि पारेको छ। पराजित मलोर्का ३१ अंकसहित १५औं स्थानमा छ।

ला लिगाकै अर्को खेलमा बार्सिलोनाले क्याडिजलाई १–० ले पराजित गरेको छ। बार्सिलोनाको जितमा ३७औं मिनेटमा जोआओ फेलिक्सले गरेको गोल नै निर्णायक बन्यो।

यस जितले बार्सिलोनाले शीर्षस्थानको रियलसँगको अंक दुरी ८ मै राखेको छ। बार्सिलोनाको ३१ खेलबाट ७० अंक छ। पराजित क्याडिज ३१ खेलबाट २५ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ।

Tags: