post-slider post-slider

प्रचण्डको परिवारवाद : आफ्नै भाइलाई राष्ट्रिय सभा अध्यक्ष बनाउँदै

Image
A A

काठमाडौं, फागुन २९ - राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुँदैछ।

संसद सचिवालयले हिजो सार्वजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बीचमा प्रतिस्पर्धा हुँदैछ।

माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय लिएको थियो।

सांसदहरू झक्कु सुवेदी, रेणु चन्द र अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्यालको नाम चर्चामा आए पनि राष्ट्रपतिको मनोनित कोटाबाट राष्ट्रिय सभामा प्रवेश गरेका दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको थियो।

संसद सचिवालयका अनुसार बिहान ११:०० बजे निर्वाचन प्रकिया सुरू हुने छ।

संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार दाहाल र प्रतिपक्षीवाट शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।

 

दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र  मोहम्मद खालिद (जसपा) रहेका छन्।

उता प्रतिपक्षबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार शर्माको प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना
समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा) रहेका छन्। 

चार वर्षे कार्यकाल रहेका दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ चैतमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए। चितवन स्थायी ठेगाना भएका दाहाल २०३१ सालदेखि पार्टीमा सक्रिय रहेको संघीय संसद् सचिवालयले प्रकाशित गरेको ‘संघीय संसद् सदस्य विवरण, २०८०’ पुस्तकमा उल्लेख छ।

त्यसअघि उनी २०२७ देखि विद्यार्थी राजनीतिमा सक्रिय थिए। उनी २०५७ देखि माओवादी केन्द्रीय सदस्य छन्। माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए। २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन–३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। यसअघि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनी सल्लाहकारसमेत भइसकेका छन्।

दाहाललाई माओवादीलाई परिवारवाद बनाएको आरोप छ। उनकी छोरी रेणु चितवनकी मेयर छिन्। कान्छी छोरी दाहालकै स्वकीय सचिव छिन्।  

Tags: